छालाको क्यान्सरबाट सुरक्षा मिलोस भनेर नै जीवन विकासको क्रममा मानिसको छालाको वर्ण कालो भएको विश्लेषण गरिएको छ । यसअघि, मानिसको छाला कालो हुनुमा छालाको क्यान्सरको भूमिकालाई ध्यान दिइएको थिएन । प्रजनन् उमेरका मानिस छालाको क्यान्सरले मर्ने घटना निकै कम हुने भएकाले मानव उद्विकासको इतिहासमा यस पक्षलाई वेवास्ता गरियो ।
वेलायतको इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका प्राध्यापक मिल ग्रेभ्स भन्नुहुन्छ– चाल्र्स डार्बिनले छालाको वर्णमा रहेको विविधतासँग परिस्थिति अनुकूलताको कुनै सम्बन्ध नरहने ठान्नुहुन्थ्यो र अन्य अनुसन्धानकर्ताले पनि मानव उद्विकासमा क्यान्सरलाई विशिष्ट शक्तिको रूपमा हेरेनन् । तर विशेषगरी अफ्रिकी मानिसको स्वास्थ्य सम्बन्धी तथ्याङ्कको विश्लेषणबाट के देखिन्छ भने मानव उद्विकासको प्रारम्भिक अवस्थामा उनीहरूको छालामा गाढा वर्ण युमेलानिनको विकास हुनुमा घातक क्यान्सरले ठूलो भूमिका खेलेको हुन सक्छ –नयाँ अनुसन्धानका टोली प्रमुख प्राध्यापक मिलको भनाइ छ ।
रौ, छाला र आँखाको नानीलाई रङ दिने प्राकृतिक तत्व मेलानिनको खैरो–कालो स्वरूप युमेलानिन हो । मेलानिनले नै सूर्यको विकिरणबाट हाम्रो छालाको रक्षा गर्छ । छालाको डिएनएमा क्षति पुग्न नदिन युमेलानिनलाई मेलानिनका अन्य स्वरूप भन्दा प्रभावकारी मानिन्छ । डिएनएमा क्षति पुगेमा त्यसले क्यान्सर उत्पन्न हुने बाटो खुल्छ । अनुसन्धान अनुसार पूर्वी अफ्रिकाको सभाना क्षेत्रमा १२ लाख देखि १८ लाख वर्ष पहिले मानिसको मेलानिनयुक्त छाला विकास भएको मानिन्छ । प्रारम्भिक अवस्थाका मानिसको शरीर रौले ढाकिएको भए पनि पछि गएर गर्मीबाट जोगिन रौ कम हुँदै गएको थियो । रौ कम भएको मानिसको छाला फियोमेलानिन तत्व भएकाले रातो–पहेँलो वर्णको देखिन्थ्यो । हाम्रो नजिकको पुर्खा मानिने चिम्पान्जीको छालाको रङ अहिले पनि रातो–पहेँलो नै छ । ५० हजारदेखि ८० हजार वर्ष पहिले मानिसले अफ्रिकाबाट उत्तरतर्फ युरोपमा बसाइँ सर्न सुरु गरेको थियो । त्यस बेला पृथ्वीमा आइपुग्ने सूर्यको पराबैजनी विकिरण अचेलको जस्तो कडा थिएन र युरोप छिरेका मानिसलाई रातो–पहेँलो छालाले गर्दा भिटामिन डी पर्याप्त मात्रामा ग्रहण गर्न सहयोग पुगेको हुनसक्ने विश्लेषण गरिएको छ ।
यसैगरी, प्राध्यापक मिलले अल्बिनिज्म भएका मानिसलाई छालाको घातक क्यान्सर हुने खतरा बढी हुने बताउनुभएको छ । मेलानिन उत्पादन गर्ने जिनमा उत्परिवर्तन भएर अल्बिनिज्म हुने गर्छ । उत्परिवर्तनले गर्दा मेलानिन पर्याप्त मात्रामा उत्पादन हुन सक्दैन ।